द ब्ल्यू लाइट प्रिमियरः छायांकन र कथाको तारिफ

काठमाडौं । आजबाट प्रदर्शनमा आएको फिल्म ‘द ब्ल्यू लाइट’ ले बिहीबार साँझ काठमाडौंमा गरेको प्रिमियरमा सकारत्मक प्रतिक्रिया पाएको छ । बलिराम चौहानको निर्देशन रहेको फिल्मले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

प्रिमियरपछि कलाकार तथा निर्देशक दीपक आचार्य (काकु)ले फिल्मको समग्र प्याकेजलाई उत्कृष्ट भनेका छन् । उनले कलाकारहरूको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने बताए । उनले भने, ‘सिनेमाटोग्राफीमा नरेन्द्र मैनालीको जादु छ, र कथा बिल्कुलै नौलो छ । कलाकारहरूको अभिनयले तपाईंलाई हलभित्र बाँधेर राख्छ ।’

त्यस्तै, निर्माता अविरल थापाले फिल्म पारखीहरूका लागि नरेन्द्र मैनालीको छायांकनको जादु अनुभूत गर्न यो फिल्ममा हेर्नैपर्ने बताए । प्रिमियरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री नीति शाह लगायतका सेलेब्रिटीहरूले पनि फिल्मको प्राविधिक पक्ष र कथावाचनको शैलीलाई तारिफ गरेका थिए ।

फिल्ममा मुख्य भूमिका निभाएकी साथै कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेकी बेनिशा हमालले प्रिमियरपछि खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘नेपालमा साइकोलोजिकल थ्रिलर बनाउनु एउटा ठूलो चुनौती र जोखिम थियो । तर, आज प्रिमियरमा उपस्थित दर्शक र चलचित्रकर्मीले जुन किसिमको प्रतिक्रिया दिनुभयो, त्यसले हाम्रो मेहेनत सफल भएको महसुस गराएको छ । यो फिल्म मेरो लागि केवल अभिनय मात्र होइन, एउटा सपना पनि हो ।’

निर्देशक बलिराम चौहानले आफूले भन्न खोजेको कथालाई कलाकारहरूले पर्दामा जीवन्त उतारिदिएकोमा आभार व्यक्त गरे । उनले भने, ‘हामीले एउटा इमान्दार प्रयास गरेका छौं । प्रिमियरमा जुन लेभलको तारिफ पाइयो, हलमा आम दर्शकले पनि यसलाई त्यसरी नै माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’

फिल्ममा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ र अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।