छायांकनमा रेखाको माया भनेकै यस्तो होला

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु भएको छ । गत फाल्गुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको यस फिल्मको गत सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सुटिङ आरम्भ गरिएको हो ।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्मको निर्देशन गरिसकेकी रेखा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । रेखाले यसपटक आफ्नै ब्यानर रेखा फिल्मस् भन्दा बाहिर गएर ‘दिया एण्ड अमु फिल्मस्को ब्यानरमा काम गरिरहेकी छिन् ।

फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेता दिल श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्ममा सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको पनि अभिनय छ । फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस फिल्मले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ
ध्रुव लम्सालको लेखन रहेको यो फिल्मले प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्नेछ । लेखक लम्साल पनि करिब एक दशकपछि सिनेमा लेखनमा फर्किएका हुन् ।

काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिने चलचित्रको छायांकन करिब एक महिना चल्ने उनले जानकारी दिए । फिल्ममा सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन् । फिल्म आगामी तिजमा रिलिज हुनेछ ।