विद्यार्थीलाई मिलाप फाउण्डेसनको शैक्षिक सामाग्री

काठमाडौं । मिलाप फाउण्डेशनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ‘गरे के असम्भव एक सामाजिक अभियान’ भन्ने मूल नारासहित समाजसेवामा सक्रिय फाउण्डेशनले बुधबार धादिङ धुनिबेशी–३ स्थित त्रिकुटेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा राष्ट्रखबर डट कम र नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनले सहकार्य गरेका थिए । कार्यक्रममा विद्यालयका १२५ जना विद्यार्थीलाई विद्यालय झोला, कापी, पेन्सिल, खेलकुद सामग्री, माक्सलगायत अत्यावश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्र प्रेसका सुमित रजत, गायक डिजेयुवा, विद्यालयका प्रिन्सिपल रमेश कँडेल, शिक्षकहरू दिलीप रेग्मी, शरदराज रेग्मी, उमेश न्यौपाने, सुबास ढउन्यालगायत व्यक्तित्वहरूको उपस्थिति थियो ।

विद्यालयका प्रिन्सिपल रमेश कँडेलले विद्यालयमै आएर विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाको भावना लिएर मिलाप फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको बताइन् ।

अध्यक्ष अधिकारीले २०७२ सालको विनाशकारी भूकम्पका बेला पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउने कार्यमा समेत फाउण्डेशन सक्रिय रूपमा लागेको स्मरण गर्दै सामाजिक सेवा नै फाउण्डेशनको प्रमुख ध्येय रहेको बताइन् ।

फाउण्डेशनका उपाध्यक्ष राज लुईंटेलले समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्दै सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए ।