मायालाई के बैना दिँदैछिन् लालीबजारकी स्वस्तिमा

काठमाडौं । आगामी नयाँवर्ष २०८३ को वैशाख १८ गते रिलिज हुने फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ । लोकभाकाको गीतमा दीपिका बयम्बु मगर र खेम सेन्चुरीको स्वर, खेमकै संगीत र रमेश बिजीको शब्द छ । गीतले मायालुलाई बैना दिएको प्रसंग प्रस्तुत गरेको छ ।

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीपसहित स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको नृत्य छ । गीतमा फिल्मका मुख्य कलाकारहरू रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटालाई पनि देख्न सकिन्छ ।

यम थापाको कथा तथा निर्देशन रहेको फिल्ममा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । फिल्मको संवाद र पटकथा यम र प्रदीप भट्टराईले लेखेका हुन् ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्यूजिक तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ । फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् ।