काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रवार र शनिवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको पलेंटीमा यसपटक दार्जिलिङ्का गायक पवन गोले प्रस्तुत हुने भएका छन् । पवनले १४ वर्ष पहिले पनि पलेँटीमा आफ्नो गीत सुनाएका थिए ।
पवनले यसपटकको पलेँटीमा आफ्ना पुराना गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन् । नयाँ गीतहरूमा सङ्गीतकार रमेश गुरुङद्वारा धुन भरिएका गीतहरू समेटिएका छन् । प्रस्तुतीका लागि रमेश गुरुङ र पवन गोले अभ्यासमा जुटिरहेका छन् ।
पवन गोले नेपाली साङ्गीतिक जगतका नेपालीभाषी श्रोता बीच परिचित नाम हो । खासगरी ‘हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ’ पवन गोलेको स्वरमा लोकप्रिय गीत हो । उनी दार्जिलिङको साङ्गीतिक जगतमा लामो समयदेखि क्रियाशील कलाकार हुन् ।
पवनले यसपाली सुवर्ण लिम्बूको नयाँ धुनका साथै पारस गजमेर, बसन्त छेत्री, प्रदीप छेत्री र रमेश गुरुङले सङ्गीत भरेका गीतहरू प्रस्तुत गर्नेछन् । पवनको पलेँटीमा समेटिएका गीतकारमा शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन प्यासी, पुरन गिरि, सुरेन थिङ, संजय बान्तवा, संजय बिष्ट, कालूसिंह रनपहेली, प्रमोद स्नेही र अरुण तिवारी रहेका छन् ।
पलेँटी कार्यक्रम यही अप्रिल महिनाको अन्तिम शुक्रबार (२४ तारिख) र २५ तारिख शनिवारका दिन आयोजना हुनेछ ।




