सारथीमा उत्तम र निरुता

काठमाडौं । कुमार गजुरेलको डेव्यु निर्देशनमा निर्माण हुने फिल्म ‘सारथी’को मुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा मुहूर्त गर्दै फिल्मको टोली छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको छ ।

वैशाख ९ गते बुधबारबाट फिल्मको गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा छायांकन गरिने निर्देशक गजुरेलले बताए । यो फिल्मबाट सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो नेपाली फिल्ममा खर्चिएको सम्पादनको अनुभव सहित दर्शकलाई एक उत्कृष्ट कथा पस्किने हेतुले निर्माणमा होमिएको उनले बताए ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्यमा निर्माण हुन लागेको फिल्मबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेका छन् । अभिनेत्री सिंह मुहूर्तमा उपस्थित भए पनि उत्तम भने वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा जोडिने तयारीमा छन् ।

फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ । सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी तथा लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन् ।