काठमाडौं। फेन्टासी कमेडी ड्रामा विधामा निर्माण भएको फिल्म ‘लाइफ ड्यामेज’ मा समाबेश गीत ‘ब्युटीफूलम’ सार्वजनिक भएको छ। जेठ १ गते रिलिज हुने फिल्मको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको हो। गीतमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ। गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन्।
केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन्।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताए । अभिनेत्री सुरक्षा पन्तले सिनेमाको आइडिया मन परेकोले आफुले काम गरेको बताइन्।
फिल्ममा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ। गीतको भिडियो फन रिभोलुसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।




