काठमाडौं । फिल्म ‘रोल नं १’को गीत शीर्ष गीत सार्वजनिक भएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको शीर्ष गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ ।
गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने रेङकिङ (श्रेणी) को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई विषय बनाएको छ । जसमा एक ग्रामीण भेगको बालकको कथा देखाइएको छ । गीतका शब्दले ‘अरू सबै मुर्ख, एउटै मात्र विद्वान’ भन्दै विद्यालयमा पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने सामाजिक सोचमाथि प्रहार गरेको छ ।
भिडियोमा हिमाली भेगको सुन्दर दृश्य, ढुङ्गाले बनेका परम्परागत घर र ग्रामीण स्कुलको जनजीवनलाई कलात्मक ढंगले उतारिएको छ । एकातिर बालकले मैनबत्तीको उज्यालोमा अबेरसम्म पढ्नुपर्ने बाध्यता छ भने अर्कोतिर साथीहरूसँग भलिबल खेल्ने र घुम्ने उसको रहरलाई दबाइएको देखिन्छ ।
‘हरेक विद्यार्थीको कथा’ नारा दिइएको फिल्म जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । महेश दवाडीको लेखन रहेको फिल्म म्याग्दीका ग्रामीण भेगहरूमा छायांकन गरिएको छ ।




