कुशे औंशीमा माया भनेकै यस्तो होला

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ गते अर्थात कुशे औंशीको दिन रिलिज हुने भएको छ । निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौता यो मितिमा फिल्म रिलिज हुन लागेको हो ।

फिल्म वितरणको जिम्मेवारी प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । अभिनेत्री थापाले यसै फिल्ममार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्मको निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।

दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, पूर्वमिस नेपाल उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको अभिनय छ ।

फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको फिल्ममा सुदीप बरालको छायांकन छ ।