काठमाडौं । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लालीबजार’ यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै छ । पश्चिम नेपालको बर्दियाको राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मका अभिनेता रविन्द्र सिंह बानियाँ यो फिल्म पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड फिल्म रहेको बताउँछन् । विसं २०४३ सालदेखि २०५८ सालसम्मको समयावधिलाई समेटिएको यस फिल्मले तत्कालीन समाजमा विद्यमान असमानता, सत्ताको दुरुपयोग र कमजोर समुदायमाथि भएका अन्यायलाई चित्रण गर्ने प्रयास गरेको छ, उनी भन्छन् ।
उनका अनुसार वादी समुदायका महिलामाथि हुने शोषण, ‘नथी’ जस्ता परम्परागत अभ्यासमार्फत गरिने नियन्त्रण तथा स्थानीय सत्ताधारी वर्गको प्रभावलाई केन्द्रमा राखिएको छ । विशेषगरी एउटा आमाले आफ्नी छोरीलाई त्यस्तो दमनकारी परिवेशबाट जोगाउन गरेको संघर्षलाई फिल्मको मुख्य कथा बनाइएको छ ।
उनले फिल्ममा त्यही परिवेशभित्र एक आमाले आफ्नी छोरीलाई दमनकारी परिस्थितिबाट जोगाउन समाज र सत्तासँग गरेको संघर्षलाई मुख्य कथावस्तु बनाइएको बताए । बानियाँ स्वयंले पनि प्रभावशाली जमिन्दार वर्गसँग सम्बन्धित पात्रको भूमिका निर्वाह गरेका छन् । उनका अनुसार ‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक दायित्वबोधका साथ निर्माण गरिएको फिल्म हो ।
उनले भने, ‘फिल्म केवल व्यापारिक हिसाबले बनाएका होइनौं । यो हाम्रो सामाजिक दायित्व पनि हो । जसले यस्तो पीडा भोग्नुभयो, उहाँहरूलाई सम्मान र ‘ट्रिब्युट’ दिनु पनि हाम्रो उद्देश्य हो । त्यसैले विभिन्न स्थानमा पुगेर अनुसन्धान गरेर, समुदायसँग नजिकिएर कथा तयार पारेका छौं । अघिल्ला फिल्महरूमा हल्का–फुल्का विषय उठाएका थियौं, तर यसपटक संवेदनशील र गम्भीर विषयमा काम गरेका छौं। फिल्म साँचो घटना र परिवेशबाट प्रेरित भएकाले अझ जिम्मेवारीका साथ निर्माण गरिएको हो ।’
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।




