नेपाल ग्रामीण चलचित्र महोत्सवको प्री इभेन्ट

काठमाडौं। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजना हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव’ को प्री–इभेन्ट काठमाडांमा सम्पन्न भएको छ। महोत्सव मंगलबारदेखि बिहीबारसम्म सञ्चालन हुनेछ।

प्री–इभेन्ट कार्यक्रममा अफिसियल सेलेक्सनमा परेका १७ वटा फिल्मलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी लगायत विभिन्न फिल्मकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘हिमाल, पहाड, तराई—कोही छैन पराई’ भन्ने मूल नारासहित गाउँ–गाउँमा नेपाली सिनेमा पुर्‍याउने उद्देश्यले यसअघि गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा महोत्सव आयोजना भइसकेको छ। यसपटक भने महोत्सव पहिलोपटक तराई क्षेत्रमा हुन लागेको हो।

सेलिब्रेटी नेपालका अध्यक्षसमेत रहेका सापकोटाका अनुसार ग्रामीण कथा र मधेशी संस्कृतिमा आधारित फिल्मलाई प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीमा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी फिल्मका आवेदन परेका थिए, जसमध्ये १७ वटा फिल्म छनोट गरिएको हो। महोत्सवमा प्रदर्शन हुने सबै फिल्म दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन्। फिचर फिल्मतर्फ ‘सिटामोल’, ‘कोशेढुंगा’, ‘माइतीघर’, ‘मोहर’ र ‘गुन्युचोलो’ छनोटमा परेका छन् ।

महोत्सवमा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाबीच सहकार्य रहेको छ।