काठमाडौं । गायिका मिरा राणाले मिरा क्यान्सर समाज स्थापना गर्दै क्यान्सरविरुद्धको लडाइमा सामूहिक साथ र सहकार्यमा पाईला चालेकी छन् । उमेरले सात दशक र गायन करियरले ६ दशक पार गरेकी मिराले आफु कुनै समय गम्भिर रुपमा अस्वस्थ हुँदा त्यसलाई जित्नका लागि सबैभन्दा पहिले घर परिवार र अस्पतालमा चिकित्सकको व्यवहारले ठूलो महत्व राखेको बताइन् ।
‘मलाई स्वास्थ्यमा समस्या भएपछि यहाँ धेरै ठाउँमा परिक्षण गराएँ । तर केही उपलब्धि नभएपछि उपचारका लागि बेलायत गएकी थिएँ । मेरो सम्पूर्ण रिपोर्ट हेरेर त्यहाँको डाक्टरले तपाईँ त महान गायिका हुनुहुँदो रहेछ भन्दै खुशी ब्यक्त गर्नुभयो । पछि रोगको पहिचान गर्नुभयो । डाक्टरले हास्दै हामी सबै ठिक पाछौँ, हामी छौ नि भन्नुभयो । त्यो सुनेपछि मलाई ठूलो हौसला मिल्यो । जब मेरो अपरेशन थियो, त्यो बेला ६÷७ जना डाक्टर थिए । मलाई बेडमा सुताएर हरेक डाक्टरले हौसला दिँदै आ–आफ्नो कामबारे बताए । मलाई माया गर्ने यति धेरै रहेछन् भन्ने लाग्यो । त्यहाँको डाक्टरको व्यवहारले नै आधा रोग हराएको जस्तो हुने रहेछ,’ उनले भनिन् ।
रेडियोकर्मी तथा सल्लाहकार धन लामाले गायिका राणाले आफ्नो उद्धेश्य र ठूलो सपनालाई पुरा गरेको र त्यसलाई साकार पार्न सबैको सहयोग आवश्यक रहेको बताए । प्रमूख अतिथि तथा समाजका सल्लाहकार भक्तपुर क्यान्सर अस्पतालका निर्देशक रोशन प्रजापतिले मिरालाई भेट्दा उनको जोश देखेर उत्साहित भएको बताए ।
कार्यक्रममा संगीतकार दीपक जंगम, गीतकार कपिल लोहनी, तीलगंगा आँखा अस्पतालका दिनेश पोखरेल, रुपी सिंहलगायतले समाजका कार्यमा साथ दिने प्रतिवद्धता जनाए । समाजको उपाध्यक्षमा सिदार्थ राणा, कोषाध्यक्ष सुरक्षा सिजापती, सचिव हेमा मानन्धर, सह सचिवमा नविना शाक्य रहेका छन् । त्यस्तै अन्य सल्लाहकारमा गीतकार श्रीपुरुष ढकाल, राजाराम पौडेल, मनोहर सुनामलगायत रहेका छन् ।




