काठमाडौं । गीतकार क्षेत्रप्रताप अधिकारीका नाति तथा कार्यक्रम निर्देशक र कमेन्टेटर अमनप्रताप अधिकारीका छोरा अविरल प्रताप अधिकारी फिल्म एक मुठ्ठी बादल परिवारको सबैभन्दा कान्छो सदस्य हुन् । उनी सुटिङ युनिटमा पनि सबैभन्दा कान्छो सदस्य नै थिए । तर फिल्ममा अडिसन दिनेमा चाहिँ अविरल पहिलो थिए ।
अविरलले फिल्ममा नायिका आँचल शर्माको भाईको भूमिका निर्वाह गरेका छन् । ‘त्यतिबेला म जम्मा १७ वर्षको थिएँ । न अभिनयको ज्ञान थियो न पूर्व अनुभव । दुई पेजको सिन आफ्नो विवेकले अभिनय गरेर पठाएको थिएँ । निर्देशक सहारा दिदीले पछि खबर गछौँ भन्नु भएको थियो । त्यसको ५ वर्षपछि बल्ल खबर आयो । फेरि एक चोटि अडिसन दिएपछि बल्ल मैले यो फिल्ममा काम गर्ने अवसर पाएँ,’ अविरलले सुनाए ।
तर अडिसनबाट छानिएको दिन उनका लागि अविस्मरणीय नै भयो, किनकी फिल्ममा उनले पहिलोपटक अभिनय त गरे नै, यही फिल्मका कारण उनले पहिलोपटक प्लेन चढ्ने मौका पनि पाए । ‘यो फिल्मको सुटिङमा पोखरा जाँदा मैले पहिलो पटक प्लेन चढेको थिएँ । एडभेन्चर लागेको थियो । त्योबाहेक यो फिल्मको सेटको अनुभव पनि स्मरणीय रह्यो । सुटिङ सकिएको दिन त म भावुक भएर रोएको पनि थिएँ,’ उनी भन्छन् । एक मुठ्ठी बादलपछि उनले पारी बुटोलमा पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्म जेठ १ देखि प्रदर्शनमा आउँदैछ । फिल्ममा निशा शर्मा, शेखर चापागाँई, आँचल शर्मा, उषा रजक, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, भिमा मैनाली, अस्मिता गौतम आदिको अभिनय रहेको छ ।




