न्युजिल्याण्डमा गुञ्जिँदै नेपथ्य

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । आर्कटिक महासागरसँग जोडिएको क्यानाडामा प्रस्तुति दिएर फर्किएको दुई साता नबित्दै नेपथ्य एन्टार्टिक महासागर छेउमा जान लागेको हो । टोली भोलि सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ ।

ब्यान्डले यसपटक प्रस्तुतिका लागि न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको व्यस्त सहर अकल्यान्ड छनोट गरेको छ । त्यहाँस्थित ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा मे १०, आइतबार साँझ नेपाली लोकरक घन्किनेछ ।

नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो । त्यति बेला नेपथ्य ‘स्काई सिटी थिएटर’ मा प्रस्तुत भएको थियो । त्यो वर्ष नेपथ्यको प्रस्तुतिसँगै उक्त मुलुकमा नेपाली कलाकर्मीको आवतजावतको ढोका खुलेको जानकारी तत्कालीन आयोजक टोलीका राज महर्जनले दिएका थिए । नौ वर्षको अन्तरालमा ब्यान्डको यो दोस्रो न्युजिल्यान्ड भ्रमण हो ।

स्थानीय आयोजक टोलीका रोजन भट्टराईका अनुसार अकल्यान्डको शोका निम्ति उल्लेख्य मात्रामा दर्शक सहभागिता जुट्न सुरु भइसकेको छ । आदिवासी माउरी समुदायको परम्परागत ‘हाका शैली’ मै भव्य रूपले नेपथ्यलाई न्युजिल्यान्डमा स्वागत गर्न आफूहरू तत्पर रहेको भट्टराईले बताए ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।