काठमाडौं। प्रेम र भावना समेटिएको नयाँ गीत ‘मुया रानी’ सार्वजनिक गरिएको छ। युगल जोडीप्रति समर्पित गीतले मायालु मनको संवेदनशील पक्षलाई संगीत, शब्द र अभिनयमार्फत उजागर गरेको छ । काठमाडौँमा आइतबार एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो।
भिडियो रिलिज कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, गीतकार आनन्द अधिकारी, नेपाल सरकारका सचिव अशोक क्षेत्री, पुर्व एआइजी श्याम ज्ञवाली, गायक संगीतकार रेशम सापकोटालगायतको उपस्थिति थियो ।
गीतले माया गर्ने मान्छेले आफूले माया गरेको व्यक्तिलाई नभेट्दा र नदेख्दा मनमा उठ्ने आतुरता, व्याकुलता र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले चित्रण गरेको छ। साथै, प्रेम गर्ने जोडीहरू कहिल्यै अलग नहोस् भन्ने सन्देश बोकेको यस सिर्जनाले संसार नै मायामा टिकेको हुन्छ भन्ने यथार्थलाई उजागर गरेको छ।
गीतमा रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगरको स्वर रहेको छ भने शब्द कमल शर्मा आचार्यले लेखेका हुन्। संगीत ऋषि खड्काले तयार पारेका हुन्। गीतकार कमल शर्मा आचार्यका यस अघि पनि केहि गीतहरु सार्वजनिक भई सकेका छन्। गीतको भिडियो कमलले श्रीमतीको जन्म दिनको अवसर पारेर सार्वजनिक गरेका हुन्।
म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाहीको अभिनय छ। भिडियोको निर्माण व्यवस्थापन दिपेन गौतमले गरेका छन् भने सह–निर्देशन सैलेश खत्रीले सम्हालेका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियोका निर्देशक एलिश खनाल हुन्। एलिश खनालले गीतको अडियो अनुसार भिडियो उत्कृस्ट बनाएका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।





