काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।
निर्देशक योञ्जनले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गरिरहेको जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने बताए । फिल्ममा धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक योञ्जनका अनुसार केही देशमा फिल्मको प्रदर्शन अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा छ । फिल्ममा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, रेनिश फागोको कलर करेक्सन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पार्श्व सङ्गीत र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।
डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस डिजाइन आइआइएफटी (धीरज एण्ड मिरुना) ले गरेको हो । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।





