काठमाडौं । मानवअधिकार तथा सामाजिक न्यायका अभियन्ता प्रदिप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ सार्वजनिक गरिएको छ । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा किरण नेपालीले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए ।
सिन्धुलीमा जन्मिएका तथा हाल ललितपुरलाई कर्मथलो बनाएका परियार लामो समयदेखि युवा अधिकार, मानवअधिकार तथा दलित समुदायको हकअधिकारका क्षेत्रमा सक्रिय छन् । ‘सियोधागो’ आफ्नो जीवनयात्रा, सामाजिक अनुभव र न्यायका लागि गरिएको संघर्षको दस्तावेजका रूपमा तयार गरिएको उनले बताए ।
पुस्तकमा जन्मथलो सिन्धुलीदेखि हालसम्मको व्यक्तिगत यात्रा, दलित समुदायले भोग्नुपरेका विभेद, हिंसा तथा हत्याका घटनासँग जोडिएका अनुभूति, न्याय प्राप्तिका संघर्ष र समाजमा विद्यमान असमानताका विविध पक्ष समेटिएका छन् । साथै दलित समुदायको अवस्था र परिवर्तनका सम्भावनालाई कथात्मक शैलीमा प्रस्तुत गरिएको लेखक परियारको भनाइ छ ।
‘सियोधागो’ ले व्यक्तिगत भोगाइमार्फत समाजका गहिरा संरचनात्मक विभेद र न्यायको खोजीलाई उजागर गरेको फिल्म निर्देशक शान्ता नेपालीले उल्लेख गरिन् । पुस्तकले सामाजिक रूपान्तरणसम्बन्धी बहसलाई थप सशक्त बनाउने उनको विश्वास छ ।
दक्षिण एसियाका करिब २६ करोड दलितले सदियौंदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरmद्धको अदम्य सङ्घर्षलाई प्रदिप परियारले आफ्नै अनुभवसँग गाँसेर सियोधागोमार्फत एउटा सामूहिक कथा बुनेका छन् । उनका भोगाइ र स्मृति निजी जस्ता देखिए पनि ती वास्तवमा एउटै साझा धागोका रmई हुन्, जसले इतिहास, पीडा र प्रतिरोधलाई जोड्छन् ।
यो कृति सीमान्तकृत जीवनका अनकहा सत्यहरूको दस्तावेज हो । आँसु, अन्याय र अपमानबीचबाट उठेको आशा र विद्रोहको स्वर हो । नेपालका दुर्गम गाउँदेखि विश्व मञ्चसम्मको यात्रामा लेखकले देखेका र भोगेका यथार्थ —युवाका जीवन्त अनुभूति, रुकुम सोती नरसंहार, बलात्कृत र हत्या गरिएका छोरीहरूको वेदना, हिरासतमा छोरा गुमाएका आमाहरूको अन्त्यहीन सङ्घर्ष— सबै यहाँ शब्द बनेर उभिएका छन् ।





