पलेँटीमा सुनिए शिवशंकरका गीत

काठमाडौं । गत शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गीतकार शिवशंकर थापाको ‘पलेँटी’ सम्पन्न भएको छ । शिवशंकर थापासँगै पलेँटीमा सम्लग्न गीतकारको संख्या एक दर्जन पुगेको छ ।

संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरेर प्रस्तुत गरिएको थियो । पहिलो खण्डमा नयाँ र पुराना गीत गरी पाँचवटा सांगीतिक प्रस्तुतिहरु भएका थिए । जसमा संगीतकार सुवर्ण लिम्बु, प्रकाश गुरुङ, आभास र बलराम समालका धुनहरू समावेश थिए ।

कार्यक्रममा गीत संगीतका साथसाथै गीतकार शिवशंकर थापाको गीति रचनाको रचना(गर्भ र व्यक्तिगत अनुभूतिको खुलासा मूल आकर्षणमा रहेको थियो ।
कार्यक्रमको सुरुवात पवन गोलेको स्वरमा प्रसिद्ध बनेको सुवर्ण लिम्बुद्वारा संगीतबद्ध गीत ‘हावासँगै बगुँ भन्छ’बाट भएको थियो । त्यसपछि संगीतकार प्रकाश गुरुङद्वारा धुन भरिएका ‘मेरो रहर बिउँझिएर’ र ‘केही ल्याउन सकिनँ’ बोलका गीतहरू प्रस्तुत भएका थिए ।

कार्यक्रमको चौथो प्रस्तुतिमा नयाँ गीत ‘म त अक्षरको मान्छे हुँ’ बोलको गीत रहेको थियो । पाँचौं प्रस्तुतिमा शिवशंकर थापा निकै भावुक देखिन्थे । संगीतकार बलराम समालले धुन भरेको ‘कति साह्रो फाटेछु म’ बोलको गीत आफ्नी श्रीमतीको अवसानपछिको एक्लोपनबाट अभिप्रेरित भएको सन्दर्भ कोट्याउँदा थापाका गह रसिला देखिन्थे ।

दोस्रो खण्डमा गायक तथा संगीतकार दीप श्रेष्ठको कण्ठमा प्रसिद्ध भएका गीतहरू समावेश गरिएका थिए । दर्शक दीर्घामा उपस्थित संगीतकार तथा गायक दीप श्रेष्ठ नयाँ पुस्ताका कण्ठ शिल्पीबाट आफ्ना रचनाहरू सुन्दा मुग्ध देखिन्थे ।

यस खण्डको पहिलो प्रस्तुति ‘मेरो आँखामा भरदिन बादल छाइरह्यो’ बोलको गीत रहेको थियो । दीप श्रेष्ठद्वारा संगीतबद्ध रचना सुनाउने क्रमको दोस्रो रचना ‘तिमी आकाशको जून भयौ, म त यहाँको धुलो हुँ’ रहेको थियो । कार्यक्रम अगाडि बढ्ने क्रममा ‘फूलको गाला भिजाएर’ र ‘आयो फेरि चैते हुरी’ बोलका गीतको पालो आएको थियो ।

प्रसिद्ध गीत ‘भन्थी मेरी उनी मेरो पाइला नटेकिदिनु’ गीतको पालो आउँदा गीतकार शिवशंकर थापा आफ्नो वैयक्तिक प्रेम कथा अभिव्यक्तिको उत्कर्षमा पुगेका थिए । तेस्रो खण्ड तथा अन्तिम खण्डमा लोक शैलीका रचनाहरू प्रस्तुत भएका थिए । जसमा भौगोलिकता समेटिएको ‘माखाको फेदीमा, जाँड छान्दा छान्दै’ र ‘आज फेरि राजैज्यूको’ बोलका गीत रहेका थिए ।

अभिज्ञा घिमिरे र रूपक चौधरीको स्वरमा गुञ्जायमान यस पलेँटीमा बाद्यवादनतर्फ लिड र रिदम गिटारमा विक्रम कार्की, बेस गिटारमा कृपेश लोहनी, किबोर्डमा वैभव विक्रम परियार, बाँसुरीमा मिलन घिमिरे, रिदम सेक्सनमा मिलेश तण्डुकार र रिजेन खड्कीको सहभागिता रहेको थियो ।