आमिरको सुटिङमा आगन्तुकलाई प्रतिबन्ध

मुम्बई(एजेन्सी) । यशराज फिल्म्स्को व्यानरमा बनिरहेको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सेटमा गएर सुटिङ हेर्ने चाहना कोही कसैले राख्नु भएको छ भने अब त्यो चाहना चाहनामै सिमित गरे हुने भएको छ । निर्देशक विजय कृष्ण आचार्य निर्देशित फिल्मको सुटिङमा अब आगन्तुकलाई प्रतिबन्ध लगाइएको छ ।

यो काम निर्देशक विजयले भने गरेका होइनन् । फिल्मका प्रमुख अभिनेता आमिर खानले आगन्तुकलाई सुटिङ सेटमा आउन प्रतिबन्ध लगाएका हुन् । समाचार अनुसार फिल्मको सुटिङ सेटबाट अमिताभ बच्चनको फिल्मी लुक बाहिरिएपछि आमिर निकै निरास बनेर यो कदम चालेका हुन् ।

‘अमिताभ बच्चनको लुक्स सार्वजनिक भएपछि आमिर निकै निरास बने । यो फोटो कसले किन सार्वजनिक ग¥यो कसैलाई थाहा नै छैन,’फिल्म युनिटका एक सदस्यले भने,‘आगामी दिनमा यस्तो काम हुन नदिनका लागि आमिरले फिल्मको सेटमा आगन्तुकलाई आउन प्रतिबन्ध लगाएका हुन् ।’

उनको यो निर्णयले फिल्मको सुटिङ सेटमा कोही व्यक्तिले कलाकार र प्राविधिकलाई भेट्न पाउने छैनन् । फिल्ममा निर्माता आदित्य चोपडाको लगानी छ । फिल्ममा आमिर र अमिताभबाहेक फतिमा शेख र क्याट्रिना कैफ पनि प्रमुख भूमिकामा छन् ।