बिन्दुको गीतमा प्रियंकाको ठुमका

काठमाडौं । फिल्मको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लाउनेले नजर लगाए’ बोलको उक्त गीत नृत्यपरक छ । गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य गरेकी छिन् ।

फिल्म ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ लोकप्रिय भएपछि आफ्नो लोकप्रियता बढिरहेको मौका पारेर गायिका परियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय भैरहेकी गायिका बिन्दु परियार यो गीतमा गायिका बिन्दु परियारलाई संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् । आशिष अविरलकै संगीत निर्देश्ँनको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।

अर्जुन अधिकारीको निर्देश्ँनमा तयार भएको उक्त गीतको नृत्यपरक म्युजिक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका नृत्यकारहरुले आकर्षक नृत्यसहित साथ दिएका छन् । यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।