जोफेनलाई उपाधिसँगै ड्याट्सन कार

काठमाडौं । ताप्लेजुङ ओलाङ्चुङगोलाकी जोफेन लामाले ‘मिस नेशनल आईकन–२०१७’को ताजसँगै १८ लाख मूल्य बराबरको ड्याट्सन कार पनि पाएकी छन् । राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा पुरस्कार स्वरुप कार पाएपछि जोफेनले ताजसँगै कार जित्नु आफ्नो अहोभाग्य भएको बताइन् । ब्राइट इन्टरटेनमेन्टले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा जोफेनले आफ्ना २० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । जोफेनले ‘मिस नेशनल आईकन’को उपाधि पाएसँगै आफूमा जिम्मेवारी थपिएको बताइन् । प्रतियोगितामा प्रियंका पुरी फस्ट रनरअप भइन् । प्रियंकाले पनि उपाधिसँगै यमाहाको रेजी स्कुटी पाइन् भने सेकेण्ड रनरअप भएकी मेरिना तुम्सा लिम्बूले नगद ५० हजार प्राप्त गरिन् ।

तीनैजना विजेताहरुलाई स्टेजमै कार, स्कुटी र नगद प्रदान गरिएको थियो । ब्राइट इन्टरटेनमेन्टका अध्यक्ष तथा गायक धनीराम राईले सौन्दर्य प्रतियोगिताको साखः खस्किरहेका बेला गरिमा बढाउन कार, स्कुटी र नगद प्रदान गरेको बताए ।

सञ्चारकर्मी तथा कोरियोग्राफर कला सुब्बाको कोरियोग्राफीमा आयोजित प्रतियोगितामा विभिन्न सबटाइटल पनि प्रदान गरिएको थियो । जसमा रश्मी आलेमगर मिस फोटोजेनिक, निर्मला तामाङ मिस बब्ली, इन्दिरा राई मिस डिसिप्लिन, लेला राई स्टाइलिस, जश्मिन मानन्धर मिस एक्टिभ र ऐश्वर्या राईले बेस्ट पपुलर अवार्ड पाए ।

त्यस्तै, निरा फागो बेस्ट स्माइल, साइना सुब्बा मिस फ्रेन्डली, दीक्षा बलामी मगर मिस चार्मिङ, सञ्जु लिम्बू मिस इनोसेन्ट, आइशा राई मिस स्मार्ट, सिर्जना योङहाङ लिम्बू बेस्ट हेयर, प्रभा राई मिस ओभिडियन, सिम्रन लामा बेस्ट स्किन, आयुष्ना श्रेष्ठ ब्युटिफुल कम्प्लेक्स र देवी गर्बुजा मगरले मिस पपुलर  टाइटल अवार्ड पाए ।

प्रतियोगितामा सञ्चारकर्मी दिनेश डिसी, डा. नवल पराजित, मिसेस नेशनल आईकन–२०१७ की विजेता शर्मिला तामाङ, ड्याट्सन कम्पनीका जनरल मेनेजर ज्ञानेन्द्र चन्द र जेनिफर बज्रचार्य निर्णायक रहेका थिए । कार्यक्रममा झरना कला केन्द्रका कलाकारले नृत्य गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।