कलाकारको साथमा विराटनगरमा मन्त्रः च्यान्टिङ

काठमाडौं । नेपालमा कला र प्रविधिको प्रभाव र सम्भाव्यतामा जोड दिन प्रविधिको क्षेत्रमा नेतृत्व गरेर काम गरिरहेका उद्यमी, अन्वेषक र कलाकार ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ अभियानमा जुटेका छन् । उनीहरुले आगामी पुस २१ र २२ गते अभियानको दोश्रो कार्यक्रम विराटनगरको हाटखोलामा गर्ने भएका छन् ।

इनोभेटिभ घर नेपाल र युजआर्ट नेपाल नामक संस्थाले शुरुवात गरेको यो कार्यक्रमले डिजिटल उत्पादन, इन्टरनेटसँग सम्बन्धित सामग्रीह, कृत्रिम बौद्धिकता र रोबोटीक कलाको पृष्ठप्रकाशमा पछिल्ला प्राविधिक विकास कसरी सम्भव भइरहेका छन् भन्ने देखाउने उद्देश्य राखेको छ ।

उनका अनुसार विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलको सुशिला कोइराला नाटकघरमा विकास जोशी निर्देशित प्रविधि नाटक ‘मिरा मिराज’ मञ्चन गरिनेछ भने मण्डलाको मोबाइल थिएटर बसमा आधा सुरको सांगीतिक समूह जिरोसर्कल इन्टरटेमेन्ट लगायत स्थानीय ब्याण्डहरुले कन्सर्ट गर्नेछन् ।

अभियानअन्र्तगत पहिलो कार्यक्रम गत असोज २७ र २८मा कुपण्डोल, कानदेवस्थानस्थित इनोभेटिभ घर नेपालमा दुई दिनको प्रदर्शनी गरिसकिएको छ । विराटनगरको कार्यक्रमपछि आगामी माघको अन्तिम साता पोखरामा प्रदर्शनी गरिनेछ । एभरेष्ट एक्सपिडिसन टिमकी सदस्य रोसा बस्नेतले सूचना प्रविधि र मिडियासँग नजिक रहेर काम गर्ने युवाहरुको चाहनालाई बढावा दिन सहकार्य गरेको बताइन् ।

२ दिवसीय यस कार्यक्रममा ३ हजारभन्दा बढी मानिसले अवलोकन, निरीक्षण गर्ने अनुमान गरिएको छ । गोर्खा मोटर्सले प्रायोजन गर्ने कार्यक्रममा कलाकारहरु दयाहाङ राई, विपिन कार्की, प्रवीण खतिवडा, विजय बराल, अंकित खड्का, नाजीर हुसेन, राजन खतिवडा, भोलाराज सापकोटा, शक्ति राई, अनुप न्यौपाने, निशा कार्की, सोमनाथ खनाललगायतको सहयोग हुनेछ ।