रुपै मोहनीमा तीन पुस्ताको रमाइलो

काठमाडौं । कमेडियन कलाकारको समूहले निर्माण गरेको फिल्म ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’ सार्वजनिक भएको छ । केहि दिन अघि मात्र छायांकन गरिएको गीतलाई अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो । लोकराज अधिकारीको शब्दमा टंक बुढाथोकीले संगीत र स्वर दिएका छन् । गीतमा टंकलाई मीना निरौलाले स्वरमा साथ दिएकी छन् ।

झट्ट सुन्दा भोजपुरी फ्लेबरको संगीत लाग्ने गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्कीले फिचरिङ गरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी र दिर्घ गुरुङको छायांकन छ ।

गीतमा तीन पुस्ताले फिचरिङ गरेका छन् । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडी छन् । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ । डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो ।

अभिनेता हरिवंशले कोरियोग्राफर कविराजले दिएको स्टेपलाई फलो गर्ने प्रयास गरेको बताए । ‘मेरो नृत्य क्षमतालाई देखेर हुन सक्छ मेरो नृत्य भन्दा बढी एक्सप्रेसन छ जस्तो लाग्छ । दीपाजीसंग प्राय दीपकनै देखिनु हुन्थ्यो, यसमा म जोडी बनेको छु । ’ उनले भने । निर्देशक प्रदिप भट्टराईले फिल्मको गीत एक विवाह समरोहको रमाइलोलाई लक्षित गर्दै तयार पारेको खुलाए ।