बाल नाटकलाई स्क्रिप्ट आव्हान

काठमाडौं । बालबालिकालाई रंगमञ्च, कला, साहित्यतर्फ काममा प्रोत्सहान र अवसर दिन राजधानीमा ‘राष्ट्रिय बाल नाटक महोत्सव’ हुने भएको छ । शैली थिएटरले आठ वर्षदेखि निरन्तर गर्दै आएको महोत्सवको नवौं संस्करण आगामी माघको अन्तिम साताबाट शैली थिएटरमै शुरु हुँदैछ । आयोजकले महोत्सवमा भाग लिन इच्छुक व्यक्ति, विद्यालय, संघसस्था र नाट्य समूहलाई पुस १५ गतेसम्म स्क्रिप्ट(आलेख) बुझाउन आव्हान गरेको छ ।

शैलीका कार्यालय सचिव सुवास सुवेदीले प्रतियोगितात्मक महोत्सव भएकाले बालबालिका उत्साहित बनाउन आयोजकले पुरस्कारका विधा पनि छुट्याएको बताए । ‘छनोट भएर मञ्चनमा लगिएका नाटकलाई मञ्चनकै अवधिमा विज्ञको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्यांकन गरी ६ वटा पुरस्कार दिईने छ ।’ उनले भने ।

आयोजकका अनुसार महोत्सवको अन्तिम दिन दुई कलाकारलाई ७ हजार रुपैंयाँ राशीको ‘उत्कृष्ट अभिनय पुरस्कार’, एक निर्देशक र नाटकलाई ५ हजार रुपैंयाँको ‘उत्कृष्ट निर्देशन पुरस्कार’ र ‘उत्कृष्ट नाटक पुरस्कार’ दिइनेछ । समापनमा दुईजनालाई जनही ३ हजार रुपैंयाँ राशीको ‘प्रोत्साहन पुरस्कार’ र ‘पब्लिक च्वाईस् पुरस्कार’ प्रदान गरिनेछ ।

शैलीकी उपाध्यक्ष सपना सञ्जिवनीले स्क्रिप्टको लागि केही मापदण्ड तोकेको बताइन् । ‘बालबालिकामा केन्द्रित नाटक महोत्सव भएकोले नाटक कुनै पनि तरिकाले बालबालिकासँग जोडिएको हुनुपर्नेछ । नाटकले बालबालिकाको मनोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने छैन’उनले भनिन्, ‘राष्ट्रिय अखण्डतामा आँच पु¥याउने तथा राज्यको नीति नियम विपरीतको स्क्रिप्ट स्वीकार्य हुनेछैन । एउटा नाटकमा बढीमा १५ जनामात्र कलाकार हुनुपर्ने र नाटक एक घण्टाको मात्र हुनुपर्नेछ ।’

थिएटरका प्रशिक्षक एवम् रंगकर्मी सहिन प्रजापतीले महोत्सवमा सहभागी १० उत्कृष्ट कलाकारलाई अभिनय तालिमको शुल्कमा छुट दिइने बताए । थिएटरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार महोत्सवका लागि छानिएका नाटकहरुको सुची पुस २० गते सार्वजनिक गरिनेछ ।