हमाल भन्छन्,‘सदैव प्राविधिकको हकमा जुट्नेछु’

काठमाडौं । विगत २५ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेता राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले ‘महानायक’को उपाधि दिएको फिल्मकर्मीमाझ सर्वविदितै छ । फिल्म ‘युगदेखि युगसम्म’बाट हिरोका रुपमा डेब्यु गरेका हमालले फिल्म क्षेत्रमा संलग्न प्राविधिकको खुशीदेखि पीडासम्मलाई नजिकबाट नियालेका छन् ।

यिनै हमाल वरिष्ठ प्राविधिक इन्द्र लामालाई उपचारार्थ आर्थिक सहयोग गर्न आयोजित कार्यक्रममा प्राविधिकलाई आफ्नो सहयोग सदैव रहिरहने बताए । ‘म यसअघि पनि प्राविधिकको हकहितका लागि जुटिरहेको थिएँ । भविष्यमा पनि सदैव प्राविधिकको हकहितमा जुटिरहनेछु । म लामाजीको स्वास्थ्य लाभको कामना गर्दछु ।’ उनले भने ।

नेपाल चलचित्र प्राविधिक संघको अगुवाइमा शुक्रबार लामालाई १ लाख २३ हजार रुपैयाँ सहयोग गरिएको थियो । अभिनेता हमालले एक च्यारिटी समारोहमा लामालाई अर्थ सहयोग हस्तान्तरण गरेका थिए । राजधानीको बनस्थलीमा सम्पन्न एक सांस्कृतिक कार्यक्रममासमेत विभिन्न कलेज र व्यक्तिले ७६ हजार पाँच सय नगद संकलन गरे । प्राविधिक संघबाट संकलित ४७ हजार ५ सय र च्यारिटीबाट जुटेको ७६ हजारसहित कूल १ लाख २३ हजार पाँचसय रुपैयाँ हमालसहित संघका अध्यक्ष पुष्कर लामा र अभिनेता सुमन सिंहले उपचारार्थ सहयोग हस्तान्तरण गरे ।

मेकअप आर्टिस्ट लामा लामो समयदेखि मृगौला, मधुमेह लगायतका रोगबाट पीडित छन् । ३५ वर्ष लामो फिल्म करियरमा उनले ३ सयभन्दा बढी सिनेमामा मेकअप म्यानको रुपमा काम गरे । उनी नेफ्टाका साधारण सदस्य समेत हुन् । प्राविधिकको स्वास्थ्य समस्यालाई ख्याल गर्दै आकस्मिक कोष खडा गरेको अध्यक्ष लामाले बताए ।