कलाकार लुकाएर परिवारको छायांकन सुरु

काठमाडौं । फिल्म ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा मुहूर्त गर्दै निर्माणपक्षले आज यो फिल्म निर्माणको घोषणा गरेको हो । मदन थापाको निर्देशन रहने फिल्मको शुभमुहूर्तसँगै छायाकंन सुरु भएको छ । फिल्मको अधिकांश छायाकंन काठमाडौंमा र केही दृश्य काठमाडौं बाहिर हुनेछ ।

निर्देशक थापाले यस अघि फिल्म ‘बाटोः रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्युः च्याप्टर–१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।

फिल्मको अनाउन्समेन्ट पोस्टरमा चारजना व्यक्ति छन् । एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ । सँगै कुकुर र बिरालो पनि छन् ।

टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ । परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।

फिल्मको कलाकारका बारेमा निर्माण पक्षले केही जानकारी दिएको छैन । फिल्ममा किरण रिजाल, रमेश शाही, भिसाका विक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

फिल्म कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ । निरज कँडेलको डिओपी रहने फिल्ममा शेर शाही क्रिएटिभ डिरेक्टर छन् ।

स्टाइल डिरेक्सन विशाखा बिक्रम थापाको रहनेछ भने सिनेमेटोग्राफी विशेष महर्जनको रहनेछ । चिफ एडी सिर्जना भुजेल, असिस्टेन डिरेक्टर राजिव गहतराज, एक्सन डिरेक्टर एनबी महर्जन रहनेछन् । लाइन प्रोडुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन् ।

रे अफ आर्टको प्रस्तुति रहने चलचित्रमा भिसा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।