रेखा भन्छिन्–०८४ मा नभए ०८९ मा राजनीतिमा आउँछु

काठमाडौं । रेखा थापाको पहिचान केवल अभिनयमा मात्र छैनन । समाजसेवा र राजनीति पनि उनीसँग जोडिएका पाटा हुन् । अभिनयमा सक्रिय रहँदा रेखा थापा फाउण्डेसनबाट सामाजिक काम सुरु गरेकी रेखाले राजनीतिमा पनि पाइला चालिन् ।

तत्कालिन नेकपा माओवादीले राजधानीमा सात दिने हड्ताल गर्दा भद्रकालीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ‘लालुपाते नुग्यो भुइँतिर’ गीतमा नाँचेकी रेखा त्यसपछि माओवादीमा प्रवेश गरिन् । दोश्रो संविधान सभाको निर्वाचनमा माओवादीबाट टिकट पाएपनि मतदाता सूचीमा नाम नभएपछि उनी चुनाव लड्नबाट बञ्चित भइन् ।

त्यसको केही समयपछि उनी कमल नेपाल नेतृत्वको राप्रपा प्रवेश गरिन् । त्यसपछि उनी पशुपति शमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीमा जोडिइन् । अहिले उनी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा छिन् ।

रेखाको गत शनिबार कान्तिपुरको शनिवारीय संस्करण ‘कोसेली’मा ‘म सुपरस्टार हुँ, मृत्युपछि पनि त्यसरी नै सम्झिइन चाहन्छु’ शीर्षकको लेखक प्रकाशित छ । जहाँ उनले जीवनका आरोह अवरोहसँगै राजनीतिका कुरा पनि जोडेकी छन् । ‘मर्नुअघि राजनीतिमा एकपल्ट केही परिवर्तन गर्न मन छ– ०८४ मा नभए ०८९ मा राजनीतिमा आउँछु । नेपाली जनतालाई भन्नु छ– ‘रेखा थापा रिलमा मात्रै होइन, रियलमा पनि हाम्रै लागि सोच्छे ।’ राजनीतिमा इतिहास बनाउनु छ । म आफ्नै समाज, देश र जनताका लागि सोचिरहेकी छु । अहिले समाजमा फन्डाबाजी गर्ने र भाइरल मान्छेलाई पत्याउने कु–संस्कार बस्यो । यो संस्कारको अन्त्य हुन्छ, हुनैपर्छ,’ उनले भनेकी छन् ।