काठमाडौं । नेपाली फिल्मका छायाँकार तथा निर्माता पुरुषोत्तम प्रधानले सोमबार चलचित्र विकास बोर्डलाई एकैपटक आफ्ना ६० भन्दा बढी फिल्मका पटकथा (स्क्रिप्ट) हस्तान्तरण गरेका छन्।
बोर्डलाई हस्तान्तरण पछि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरुषोत्तमको योगदानलाई ‘नेपाली फिल्मको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार’ भनेर सम्मान गरे। उनले भने, ‘पटकथा नै फिल्मको आत्मा हो। यी स्क्रिप्टहरू संरक्षित गर्नाले भविष्यका फिल्मकर्मीहरूका लागि प्रेरणा र शोधको स्रोत बनेको छ।’
पुरुषोत्तमले छक्का पञ्जा शृङ्खला (छक्का पञ्जा, छक्का पञ्जा ३)’, कबड्डी शृङ्खला (कबड्डी, कबड्डी २, कबड्डी ३), लुट शृङ्खला (लुट, लुट २), नाई नभन्नु ल शृङ्खला (नाई नभन्नु ल २, नाई नभन्नु ल ४, नाई नभन्नु ल ५), लप्पन छप्पन शृङ्खला (लप्पन छप्पन, लप्पन छप्पन २), दासढुङ्गा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, मायाज् बार कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, थ्रि लभर, कमला, सिग्नेचर, जय होस्, ऐँचो–पैँचो, छ एकान छ, द विनर , मेरी मञ्जु, महाजात्रा , लक्का जवान, मेरो एउटा साथी छ, आई एम सरी , रातो टिका निधारमा, चपली हाइट ३, इकु, कान्छी, कार्साङसँगै सर्ट फिल्महरु सहकारी, जुनेली र अन्तर्राष्ट्रिय पुरस्कार विजेता क्वीनस् अवार्ड विनिगं ईन सिनेमाटोग्राफी को स्क्रिप्ट पनि हस्तान्तरण गरेका छन्।
बोर्डले प्रधानको योगदानलाई ‘नेपाली फिल्म जगतको दिर्घकालीन हितको एक महत्वपुर्ण कदम’ भनेर उल्लेख गरेको छ। बोर्डले सम्पूर्ण फिल्मकर्मीहरूलाई आह्वान गर्दै भनेको छ, ‘तपाईंहरूका मौलिक स्क्रिप्ट, दस्तावेज र कलाकृतिहरू संरक्षण गर्न चलचित्र विकास बोर्डमा योगदान पुर्याउनुहोस्। यसले नेपाली चलचित्रको विरासतलाई अमर बनाउनेछ।’
पुरुषोत्तम नेपाली फिल्म उद्योगमा ३० वर्ष देखि सक्रिय छन्। उनी ‘भिजिलान्ते (नेपालको पहिलो पूर्ण थ्रिडी फिल्म)को छायाँकार समेत हुन् ।






