काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक भएको छ । भोजपुरी फ्लेभरमा रहेको गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीतमा आइटम डान्स जुना सुन्दासको छ । कोरियोग्राफी रोहन विश्वकर्माको छ ।
गीत भोजपुरी लवजमा रहे पनि भाषा भने नेपाली प्रयोग गरिएको छ । नृत्य र कोरियोग्राफी पनि भोजपुरी गीतको जस्तै छ । युवायुवतीको एकअर्काप्रतिको चाह गीत र भिडियोमा देख्न सकिन्छ ।
फिल्ममा तराईको भूमिका पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहको भोजपुरी शैलीको गीत तयार पारेको देखिन्छ । गीत डान्सिङ नम्बरमा छ ।
फिल्म भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा सुशान्त गौतमको निर्देशन छ । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।






