काठमाडौं । गत असार २७ बाट प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिमले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। बालाजु स्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो ।
फिल्मको निर्माण टिमले अष्टनारायण हलमा केक काटेर ५१ औँ दिनको सेलीब्रेशन गरेको थियो । सो कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले अरु फिल्मको जस्तो टिकट काटेर दर्शक नल्याएको बताए । रोशनले भने ‘जति दर्शक आउनुहुन्छ स्वतस्फुर्त टिकट काटेर आएका हुन् , फिल्मको चर्चा भएन होला तर फिल्मले ५१ औँ दिन पार गरेकोमा खुशी छौं ।’
कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, राजकुमार राई, रबिन्द्र खड्कालगायत फिल्मकर्मीहरुको उपस्थिति थियो । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधान को कथा तथा निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्म हाल अमेरिकाको बिभिन्न सहरमा प्रदर्शन भईरहेको छ ।
फिल्मको टिमले नयाँ फिल्म ‘स्वाहाः’ निर्माणको घोषणा गरेको छ । फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।
फिल्म मित्र प्रधानले निर्माण तथा निर्देशन गर्नेछन् । शिवम अधिकारी पटकथा तथा संवाद रहने यस फिल्ममा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिदै छन् भने अन्य कलाकारहरु छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ । हिमाली भेगको कथामा निर्माण गरिने फिल्मकरिब ४ करोडको लगानीमा निर्माण हुन् लागेको हो ।






