भारतमा नेपाली फिल्मको प्रदर्शनलाई सहज बनाउन प्रकाशको माग

काठमाडौँ । गायक तथा कलाकार प्रकाश सपुतले भारतका लागि नेपाली राजदूत डा।शंकर शर्मा र कल्चरल काउन्सलर गोकुल बस्नेतलाई भेटी नेपाली फिल्म नेपालसँगै भारतमा प्रदर्शनमा ल्याउने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।बाबा रामदेव र बालकृष्ण आचार्यको संरक्षणमा रहेको हाम्रो स्वाभिमान ट्रस्टले तिजको अवसर पारेर भारतमा आयोजना गरिएको कार्यक्रममा सहभागिता जनाउन प्रकाश यतिबेला भारतमा छन् । उनी जापानको कार्यक्रम सकेर भारत आएका हुन् ।

प्रकाशले भारतको कार्यक्रम सम्पन्न गरेपछि राजदूत डा।शर्मा र काउन्सलर बस्नेतलाई भेटेका थिए । ‘भारतमा नेपालीको संख्या ठुलो छ, भारत पुगेर कार्यक्रम गर्दा हजारौँ नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, तर नेपाली फिल्म अहिले पनि भारतमा प्रदर्शन गर्न जटिल छ,’ कलाकार सपुतले भने, ‘जापान, युरोप, अमेरिका, मध्यपूर्व लगायतका देशमा जसरी नेपाली फिल्म प्रदर्शन गर्ने गरिएको छ, त्यसरी नै भारतमा पनि लाखौँ नेपाली समुदाय भएकाले नेपाली फिल्म प्रदर्शनको व्यवस्था हुन सक्यो भने नेपाली फिल्मको दायरा अझ फराकिलो बन्नेछ, प्रवासी नेपालीहरूले पनि आफ्नो देशको फिल्म हेर्ने अवसर पाउनेछन् ।’

भेटमा काउन्सलर बस्नेतले यो विषय अहिले आएको र आफूहरूको ध्यानाकर्षण भएको बताए । ‘अहिले २ देशका बीच कल्चरल एमओयू गर्ने चरणमा पनि छौँ, त्यो पारित भयो भने कल्चर कसरी आदानप्रदान गर्ने भन्ने त्यसमा समावेश छ, यस विषयलाई उच्च प्राथमिकता राखेर आवश्यक पहल र प्रक्रिया अघि बढाउने छौँ,’ बस्नेतले भने ।

भारतमा नेपाली फिल्म प्रदर्शनका लागि सेन्सरलगायतका प्रक्रिया झञ्झटिलो छ । हालसम्म नेपाली फिल्म हिन्दी भाषामै डब गरेर प्रदर्शन गरिन्छ । प्रकाश भारतको मुम्बई र पुनेमा व्यवसाय गर्दै आएका मोहन विश्वकर्मा लगायतको लगानी र उनकै निर्देशन रहेको फिल्म ‘वसन्त’लाई भारतका सहरमा प्रदर्शन गराउने तयारीमा छन् ।