मुम्बई । बलिउड जोडी कटरिना कैफ र विक्की कौशल चाँडै आमाबाबु बन्ने तयारीमा छन् । कटरिना र विक्कीले यो विषयमा हालसम्म मुख नखोले पनि उनीहरू निकटले भने आगामी अक्टोबर–नोभेम्बरमा कटरिनाले सन्तानलाई जन्म दिने दाबी गरेका छन् ।
कटरिना गर्भवती छिन् भन्ने विषयमा कैयौँ महिनादेखि समाचार बाहिर आइरहेका थिए । तर जोडीले हालसम्म पनि यो विषयमा केही बोलेका छैनन् । कटरिना अहिले व्यावसायिक कामबाट टाढा छिन् । बच्चाको जन्मपछि पनि उनी लामो मातृत्व ब्रेकमा हुनेछिन् ।
गत जुनमा फिल्म ‘ब्यान्ड न्युज’को ट्रेलर सार्वजनिक कार्यक्रममा विक्कीले कटरिना गर्भवती भएको विषयलाई ‘गलत’ भनेका थिए । ‘जहाँसम्म गुड न्युजको कुरा छ, यसलाई हामी तपाईंहरूसँग बाँड्नेछौँ । अहिले त हल्ला मात्र हो । अहिले ब्याड न्युजलाई इन्जोय गर्नुहोस् । जब राम्रो खबर आउँछ, हामी अवश्य बताउनेछौँ’, उनले भनेका थिए ।
कटरिना र विक्कीले सन् २०२१ मा विवाह गरेका थिए । उनीहरूको विवाहमा नजिकका व्यक्ति मात्र उपस्थित थिए ।






