काठमाडौं । तिहारको छेको पारेर यही असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै चार मिनेट लामो ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ ।
बाल्यकालदेखि आफूलाई हरेक खेलमा हराएका पितालाई जितेर देखाउन सगरमाथा चढ्ने संकल्प बोकेको जेरी (अनमोल केसी)ले आरोहणको क्रममा भोग्ने कठिनाइ र चुनौतीसँगै आँचल शर्मा र जसिता गुरुङसँगको प्रेममा आउने उतारचढावलाई ट्रेलरमा चित्रण गरिएको छ । भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।
सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । यो फिल्म निर्माणमा सरोजलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले सघाएका छन् । फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ ।






