काठमाडौं । सामरी इन्टरनेसनलले एमकेएम फेसन हाउससँग सहकार्य गर्दै राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’मा ‘मिस’ तर्फ अधिका कुमारी थापा मगर र ‘मिसेस’ तर्फ चन्दु बलामी शीर्ष विजेता भएका छन् । दुवै विजेताले शीर्ष ताजसहित नगदसहित उपहार प्राप्त गरेका छन् ।
प्रतियोगितामा ‘मिस’ तर्फ प्रेक्षा श्रेष्ठ ‘फस्ट रनरअप’ हुँदा ‘मिसेस’तर्फ सरु कार्की ‘फस्ट रनरअप’ र डा. मिना प्रधान ‘सेकेण्ड रनरअप’ भए । यस्तै विधागततर्फ रञ्जु कार्की ‘पब्लिक च्वाईस’, युनिसा राई ‘भ्युअर्स च्वाइस’, सानु थापा ‘मेनेजमेन्ट च्वाइस’ घोषित भए ।
प्रतियोगितामा सेफ गोविन्द नरसिंह केसी, समाजसेवी तथा व्यवसायी सोनिया चाम्लिङ राई, गायक तथा र्यापर निर्णय श्रेष्ठ(एनएसके), र्यापर तथा राजनीतिज्ञ सिड वाग्ले र समाजसेवी दिलसागर वाग्ले निर्णायक थिए ।
विजेता तथा उपविजेतालाई पूर्व सांसद छिरिङ ल्हामु लामा(तामाङ), एनआरएनएका पुर्व अध्यक्ष विनोद कुँवर, सेफ एशोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले पुरस्कार प्रदान गरेका थिए ।
सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले महिलाको सुन्दरता, प्रतिभालाई उजागर गर्दै महिला सशक्तिकरणको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।






