संगिनी, राज, सलिना र दर्शन उत्कृष्ट

काठमाडौँ । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय लघुत्तम चलचित्र महोत्सव’मा लघु फिल्म ‘संगिनी’ उत्कृष्ट भएको छ । रेडियो नेपालका प्रथम गायक रंगकर्मी, अभिनेता र गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा फिल्म ‘कलर अफ टी’का निर्देशक राज सरगम ‘उत्कृष्ट निर्देशक’ घोषित भए ।

महोत्सव’मा ९ लघु चलचित्र प्रतिष्पर्धी थिए । प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले प्रतिष्पर्धाका लागि २ दर्जन फिल्म प्रतिष्पर्धी भए निर्णायकले फिनालेलाई उत्कृष्ट ९ फिल्म छानेको बताए । ती ९ फिल्ममध्ये अन्तिम प्रतिष्पर्धामा विनोद लोहार निर्देशित ‘संगिनी,’ राज सरगम निर्देशित ‘कलर अफ टी’ र सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप’ उत्कृष्ट घोषित भए । प्रतिष्ठानले यी फिल्मलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार र सम्मान पत्र प्रदान गरेको थियो ।

त्यस्तै ‘संगिनी’बाट नितेस लोहारले ‘उत्कृष्ट लेखक’, सलिना अधिकारीले ‘उत्कृष्ट अभिनेत्री’, ‘अन्तिम राप’बाट दर्शन घिमिरे ‘उत्कृष्ट अभिनेता’ ठहरिए । यीबाहेक ‘उत्कृष्ट निर्देशक’, ‘उत्कृष्ट सम्पादन’ र ‘छायांकन’ विधाकाले जनही १५ हजार रुपैयाँ र सम्मान पत्र पाए । महोत्सवमा रंगकर्मी, कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठ निर्णायक थिए ।

कार्यक्रममा ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसंगीत सम्मान’बाट गायिका मीरा राणा र गायक धीरज राईलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई पनि १ लाख रुपैयाँसहित ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’ प्रदान गरिएको थियो । उनीहरूलाई प्राध्यापक डाक्टर बासुदेव त्रिपाठी र रिमालकी धर्मपत्नी कल्याणीलगायतले सम्मान र पुरस्कार प्रदान गरेका थिए ।