कमललाई कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार

काठमाडौँ । गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापित ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ यसवर्ष गायक कमल विक ‘निर्मोही’ लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ राशि छ । कमल मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतलाई श्रोता तथा दर्शकमाझ प्रस्तुत गर्दै आएका छन् । गायक निर्मोही मृगौला पीडित छन् ।

उनका ‘बुलबुल तालैमा’, ‘आउँ त भने’, ‘मैले भन्थे नि’, ‘सलल बग्ने’, ‘ताने झै माया’, ‘अरू मैले’, ‘वनको फूल फुलेछ’, ‘कठै सानु’, ‘भेरी दोभान’, ‘लाग्यो माया’लगायतका गीत चर्चित छन् । कमल रेडियोकर्मीसमेत हुन् ।

टीका गोपाल डिजिटल एम क्रियसनका सञ्चालक तथा कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति तथा कार्यक्रम संयोजक संगीतकार सन्तोष श्रेष्ठले विज्ञप्तीमार्फत निर्मोहीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएका छन् ।

पुरस्कारका संरक्षक कन्हैया सिंह परियारले नेपाली संगीत क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका अग्रज श्रष्ठा तथा कलाकारहरूलाई जीवित रहँदै नगदसहित सम्मान गर्न पुरस्कार स्थापना गरिएको बताए । ‘हामीले दिएको पुरस्कार र सम्मानले सम्मान्नित हुने अग्रज श्रष्टाको मनमा खुसी र जीवनमा थप सकारात्मक सोच र ऊर्जा भरियोस्’, उनले भने । पुरस्कार कात्तिक महिनाभित्र नै प्रदान गरिने कन्हैयाले बताए ।

यसअघि पुरस्कारबाट गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०) र लोकगायक रेशम थापा (२०८१) सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।