काठमाडौं । कात्तिक ६ गते भाइटीकाका दिन फिल्म ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको क्यारेक्टरबाट आफूलाई नेपाली फिल्म बजारमा मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो फिल्ममा कस्ता देखिनेछन् ?
‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय यो फिल्ममा योङ एन्ड इनजेटिक पात्रमा देखिनेछन् । जहाँ उनले समाजमा वरिष्टको छवि बनाएर बसेको व्यक्तिलाई चुनौती दिन्छन् । राज्य प्रशासनसमेत आफ्नो मुठ्ठीमा लिएर बसेको दयाहाङको पात्रलाई ठेगान लगाउने भन्दै हिँड्ने उनको क्यारेक्टर छ ।
एकातिर धर्म बाउआमाप्रतिको दायित्व, अर्कातिर युवतीसँगको अफेयर अनि मुख्य कुरा खोलामा रहेको वरिष्ठको एकाधिरकार तोड्ने प्रयासमा रहेको चरित्रमा विजयलाई ‘वरिष्ठ बलराम’मा देखिनेछ । वरिष्ठको भूमिकामा दयाहाङ हुँदा विजय बलेको क्यारेक्टरमा छन् । उनी बले नै रहन्छन् वा बलराम बन्छन्, त्यो भने हालसम्म निर्माणपक्षले प्रष्ट पारेको छैन । तर, वरिष्ठसँग कुम जुधाएका छन् । त्यसैले यी दुई पात्रबीचको द्वन्द्वले फिल्मलाई उत्कृष्ठ बनाएको विश्वास दर्शकमा छ ।
‘जसरी पूर्णेको क्यारेक्टर हिट भयो । दर्शकले रुचाइदिनुभयो त्यस्तै हिट नहोला बलेको क्यारेक्टर भन्ने पनि लाग्छ । तर, सजिलो भने पक्कै छैन,’ विजय भन्छन्, ‘जसरी पूर्णे र बिकेको क्यारेक्टर हिट भएर दर्शकले चिन्नुभयो । त्यसरी दर्शकको दिमागमा बसेको छविलाई भत्याएर अर्को सेट गर्न सहज भने छैन । तर, कहिलेकाँही सिम्पल कुरा नै हिट हुन्छ ।’
फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।






