दीपक भन्छन्–परानको कथाले छोराछोरीलाई सोच्न बाध्य बनाउँछ

काठमाडौँ । टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव संगालेका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गरेको फिल्म ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उनलाई फिल्म बनाउने कथाको ‘आइडिया’ आएको हो ।

‘कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि फिल्म बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई फिल्मकै शैलीमा पटकथा तयार गरिएको छ”, निर्देशक आचार्यले भने ।

कोभिडमुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेखनका लागि दिए । त्यसपछि यो फिल्म बन्ने प्रक्रियाले तीव्रता पायो । एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक आचार्यले बताए ।

‘फिल्ममा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ । हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर फिल्म तयार गरेको छु”, निर्देशक आचार्यले भने ।

फिल्ममा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा उनी खुसी नै छन् ।

‘मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई फिल्म प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो । सायद, यो कथाले उहाँहरुको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला । यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ”, निर्देशक आचार्यले भने ।

परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त फिल्ममा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन् ।

शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको उक्त फिल्ममा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सृजना गरेका छन् । फिल्म यही कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।