काठमाडौँ । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म हर्षको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्मको २ मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एक परिवारमा छोराको विवाहपछि आउँने उतार चढावको ट्रेलरमा देखाइएको छ ।
आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली फिल्ममा पारिवारिक फिल्मको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।
न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्म समेत निर्माण गरेकी छन् ।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई(प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको फिल्मका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् । काफिया फिल्मस् र डिसिएनले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा बुढासुब्बा डिजिटल छ ।






