काठमाडौं । भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ दोस्रो सातामा प्रवेश गरेको छ। न्यून शो सहित रिलिज भएको फिल्मले दोस्रो सातामा आक्रमक हुने स्पष्ट संकेत दिएको छ।
शुक्रबार रिलिज भएका २ नयाँ फिल्मका कारण शुक्रबार हलमा कम दर्शक संख्यामा आएको भएपनि शनिबार फिल्मले दर्बिलो उपस्थिति देखाउने स्पष्ट संकेत दिएको छ। नेपाली हलहरूले फिल्मलाई हालसम्म १ सय ५३ हल उपलब्ध गराएका छन्। अनलाइन टिकटिङ प्लेटफर्म खल्तीमा आज शो कटौती गरेका सिनेमाहलहरूले शनिबारलाई मध्यनजर गर्दै पुनः शो थपेको पाइएको छ।
फिल्म ६४ शो सहित रिलिज भएको थियो, जसको व्यापारलाई लगातारको पानीले दुई दिन अवरोध गरेको भएतापनि मंगलबार सिनेमाले अभूतपूर्व गति लिन सुरु गरेको थियो। फिल्मले दर्शक र समीक्षक दुबैबाट मुक्तकण्ठले तारिफ पाइरहेको छ।
दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रञ्जित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङ आदिको अभिनय रहेको छ।






