काठमाडौँ । फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार छन् । अधिकारी र लामा यही गीतमा मात्र देखिएका छन् ।
समीक्षा अधिकारी र वसन्त थापाको स्वर रहेको गीतको शब्द, संगीत संयोजन रमेश परियारले गरेका छन् । गीतको भिडियो काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मौसम हिमालीको नृत्य निर्देशन रहेको फिल्मको छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, राम कार्की र सुबास शर्मा सह–निर्माता रहेको फिल्ममा योगेश खतिवडा र विनोद कँडेल लाइन प्रोड्युसर छन् ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ । यही फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहको छ ।
निर्देशक घिमिरेको कथा पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले सघाएका छन् । फिल्म ४ पुषमा रिलिज हुँदैछ ।






