काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ । मंसिर १८ गते रिलिज हुने फिल्मको नयाँ गीत निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको हो ।
सुुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा सुरेश बादलको शब्दरचना छ । प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ ।
भिडियोमा फिल्मका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । फिल्मका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेश देख्न सकिन्छ । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । फिल्ममा मुकेश खनालको लेखन रहेको छ । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।






