काठमाडौं । अभिनेत्री वर्षा राउत यही शुक्रबार फिल्म ‘हर्ष’ लिएर दर्शकमाझ आउँदैछिन् । एकता पौडेलको डेब्यु निर्देशन रहेको यो फिल्ममा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा केन्द्रीय पात्रको भूमिकामा देखिएकी वर्षा फिल्मबाट उत्साहित छिन् ।
‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ। दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला फिल्मभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु,’ उनले भनिन् । उनले पछिल्लो पटक ‘ऐँचो पैँचो’ फिल्मबाट निकै राम्रो प्रशंसा पाएकी थिइन् ।
वर्षा ‘हर्ष’को चरित्र वास्तविक जीवनभन्दा अलग रहेको बताउँछिन् । ‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ। त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन।
सन्तान हुँदा–नहुँदा त्यो पात्रले के–कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ,’ उनले भनिन् । कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास आएपछि फिल्ममा जोडिएको उनले बताइन् । वर्षा अगाडि भन्छिन्– हर्षले हर्षका आँसु झारिदिन्छ ।’ फिल्ममा उनको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग छन् ।






