विनोद भन्छन्–कास्टिङ र बजेटले फिल्मलाई ठूलो भन्न सकिँदैन

काठमाडौं । निर्माता विनोद पौडेलले फिल्म ‘अभिमन्युः च्याप्टर १’मार्फत यही मंसिर १८ मा दर्शकमाझ आउँदैछन् । उनी फिल्मलाई सानो नभन्न आग्रह गरिरहेका छन् । उनको बुझाईमा फिल्म सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिन्छ ।

कास्टिङ र बजेटले मात्रै फिल्मलाई ठूलो भन्न नसकिने उनको तर्क छ । ‘ठूलो बजेटको फिल्मलाई ठूलो भन्ने कि नभन्ने यो बहसको विषय होला । स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा त्यो सानो फिल्म हो भन्न हुँदैन । स्टाकास्टमा सबै फिल्म चल्छन् र स्टारकास्ट नहुँदैमा चल्दैन भन्ने चाहिँ हुँदैन’, उनी भन्छन् ।

यो कुरा उनकै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि पुष्टि गरिसकेको छ । डेढ करोडमा बनेको फिल्मले नेपाली बक्सअफिसमा मात्रै ४६ करोड ८० लाख भन्दा धेरै कलेक्सन गर्यो । विनोद पौडेले आफ्नो फिल्मलाई ‘अन्डर डग’हरूको फिल्म भनेका छन् । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । फिल्ममा मुकेश खनालको लेखन रहेको छ ।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिलमको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।