काठमाडौं । निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेकी उनी दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी हुन् । आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्यू फिल्मका रूपमा छनोट गरेकी हुन् ।
‘नेपाली फिल्मले अहिले राम्रो व्यापार गरिरहेको अवस्था छ। म जमल हुँदै अगाडि बढिरहँदा विश्वज्योति अगाडि नेपाली फिल्मका तीनवटा पोस्टर देखेपछि खुसी लाग्यो । यसले मेरो फिल्मप्रति सकारात्मक अनुभूति थपिदियो । मेरा फिल्म पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु। शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु।’ उनले भनिन् ।
नेपाली समाजमा वंश निरन्तरता महत्वपूर्ण मानिन्छ । यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दवाबलाई ‘हर्ष’ले उठान गरेको पौडेल बताउँछिन् ।
महिला निर्देशक र महिला केन्द्रित कथावस्तुको कारण फिल्मले महिलाको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यसबारे पौडेल भन्छिन्, ‘मैले प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेकी छु।’






