अन्तर्राष्ट्रिय एयरलाइन्समा राजागंजः पूजासर स्ट्रिमिङ

काठमाडौं । नेपाली ‘राजागंजः पूजासर’ विश्वका ५ मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू (कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीसएयरलाइन्स) बाट एकैसाथ स्ट्रिमिङ हुन थालेको छ। यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो फिल्म हेर्न पाउनेछन्। सन् २०१२ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गरेको आदि फिल्म्सको पहिलो फिल्म ‘हाईवे’ नेपालको पहिलो फिल्म थियो, जुन फिल्म विश्वका प्रमुख फिल्म महोत्सवमा प्रिमियर गरिएको थियो।

नेपालको बाँसुरी फिल्मस र नर्वेको ट्यान हाउजरगेटको सहकार्यमा आदि फिल्मस्ले निर्माण गरेको ‘राजागंजः पूजासर’ भेनिस फिल्म फेस्टिभल लेबुसान, टालिनब्ल्याकनाइट्स, गोथेबर्ग, सेलोनिकी, सिड्नी, मुम्बईलगायत दर्जनौं प्रतिष्ठित महोत्सवमा प्रदर्शन भइसकेको छ ।

‘कतारजस्तो ग्लोबली नम्बर १ मानिएको एयरलाइन्स नेपाल उड्छ, तर यिनले एउटा नेपाली फिल्म प्रोग्राम गर्दैनथे। हामीलाई आफ्नो सांस्कृतिक उपस्थितिको लागि भए पनि यो स्पेसमा हाम्रो फिल्म चाहिन्छ भन्ने लागेको हो। हाम्रै फिल्मबाट यो यात्रा शुरू हुँदा हामी गौरवान्वित भएका छौं । यो ३० हजार फिटमा उड्ने विश्व दर्शकबीच पुग्ने नेपाली फिल्महरूको यात्रा शुरूवात पनि हो’, फिल्मका निर्माता निरज श्रेष्ठले भने ।

ग्लोबलइन–फ्लाइट इन्टरटेन्मेन्ट कम्पनी पेनी ब्ल्याक मिडियाले फिल्मको अन्तर्राष्ट्रिय एयरलाइन्समा वितरण गरिरहेको हो। यो कम्पनीले फिल्मको अन्तर्राष्ट्रियइन–फ्लाइट वितरण अधिकार भेनिसमै किनेको थियो। फिल्मको थियेट्रिकल विन्डो गत अक्टोबरमा सकिएपछि एयरलाइन्स वितरणको काम सुरू भएको हो।

यो ५ वटा एयरलाइन्सको प्रोग्रामिङ प्रारम्भिकमा मात्र हो। जनकपुरमा खिचिएको फिल्म सत्यघटनामा आधारित छ। फिल्मले दुई बच्चाको अपहरणको मुद्दा अनुसन्धान र बच्चाको सुरक्षित रेस्क्यु अपरेसनका लागि काठमाडौंबाट पठाइएकी डिटेक्टिभ इन्स्पेक्टर पूजा थापालाई पछ्याउँछ। पूजाको भूमिकामा आशा मगराती छिन्, उनले अमेरिकाको स्यानडिएगोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। फिल्ममा मगरातीसागै निकिता चंडक, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, आरती मंडल, गौमाया गुरूङ, पशुपति राई, घनश्याम मिश्रा र निरज श्रेष्ठको अभिनय छ ।

दीपक रौनियारको निर्देशन रहेको फिल्मको लेखन दीपकसहित अभिनेत्री मगराती र डेभिड बार्करले गरेकाहुन्। यसका निर्माताहरूमा रौनियार, रामबाबु गुरूङ, आशा मगराती, एलनआर मिलिगन, र निरज श्रेष्ठ छन्। कार्यकारी निर्मातामा दयाहाङ राई, ग्याङ्स अफ वासिपुर फेम्ड अनुराग कश्यप, अस्कर नोमिनेटेड निर्माता जस्लिनबार्न्स, नेपाल अमेरिका फिल्म फेस्टिभलका पूर्णसिंह बराईलीलगायत छन्।