दोस्रो रोजाईमा ढुक्क अभिमन्युः च्याप्टर १

काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ । यो फिल्ममा निर्माताको दोस्रो रोजाईमा परेका अधिकांश कलाकारको अभिनय छ । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय छ ।

फिल्म निर्माता विनोद पौडेलले निर्माताको दोस्रो रोजाइमा परेका कलाकार विजय बराललाई लिएर ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक रूपमा सफल बनाए । फिल्म ‘अभिमन्युः च्याप्टर १’मा पनि उनले कसैले सोलो लिडमा नलिएका कलाकारलाई लिएका छन् । ‘यो पटक पनि मैले अघिल्लो फिल्मको जस्तो जोखिम मोलेको छु । तर म सफल हुन्छु भन्नेमा ढुक्क छु’, विनोद भन्छन् ।

दुई दशकदेखि फिल्ममा सक्रिय कलाकार कामेश्वर चौरसियाको पहिलोपटक प्रमुख भुमिकामा देखिँदैछन् । अभिनेत्री लक्ष्मी बर्देवा पनि पहिलोपटक प्रमुख भूमिकामा देखिँदैछिन् । आफू अभिनित चारवटा फिल्म रिलिज नहुँदा चिन्तामा परेकी लक्ष्मीलाई ‘अभिमन्युः च्याप्टर १’ व्यग्र प्रतिक्षा बनेको छ ।

यो फिल्मका निर्माता विनोद पौडेल हुन् । उनले यसअघि सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरेका थिए । त्यो फिल्मका दर्शक ‘अभिमन्युः च्याप्टर १’ हेर्न आउनेमा उनी ढुक्क छन् । ‘ऐतिहासिक रुपमा सफल पूर्णबहादुरको सारंगी’का निर्माताले बनाएको दोस्रो फिल्म कस्तो छ भनेर थाहा पाउन पनि दर्शकले फिल्म हेर्नुहुनेछ’, उनी ढुक्क साथ भन्छन् ।

फिल्ममा राखिएको एउटा भोजपुरी फ्लेबरको गीतले तराईका दर्शक फिल्ममा आकर्षित हुन्छन् भन्नेमा निर्माण पक्ष ढुक्क छ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा सुशान्त गौतमको निर्देशन छ । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य छन् ।