म्याग्दीबाट रोल नं. १ सुरु

काठमाडौं । म्याग्दीबाट फिल्म ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि फिल्म छायांकनमा गएको हो । करिब डेढ महिनाको सेडुयुल रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मीको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा जोन योञ्जनको निर्देशन र कथा छ ।

फिल्मका निर्माता विनोद पौडेलले फिल्म भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने बताए । यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए । अगाडि कालोपाटी थियो । नजिकै एक शिक्षिका थिइन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन् ।

शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको चिफ एडी फिरोड खड्का छन् । प्रोडक्सन डिजाइनरमा कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी छन् । मदन घिमिरेको सम्पादन रहनेछ । निर्माता पौडेलको निर्माण रहेको फिल्म यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।