देशभक्ति भावमा प्रमोदको बन्छ बन्छ मेरो देश

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्तिभावको गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदिप कुमार राई (ब्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दिपक बिष्ट, नैनसिंह महर, मिस पबि, अस्तिना महर, अनिमेश महर, सविना तामाङ लगायतको अभिनय छ ।

दशरथ सुनारको निर्देशनमा तयार भिडियोमा देश कसरी बन्न सक्छ भन्ने सपना र आशा बाँडिएको छ । ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माइला)ले गीतको सार्वजनिक गरे । गीतकार महरले कांग्रेस एमालेको सरकार बनेकै बेलामा गीत सृजना गरिएको बताए ।

उनले भने, ‘जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्ने गरी कांग्रेस एमालेको सरकार बनेको थियो । त्यो सरकारले के गर्‍यो भने जनतामा आशाको सञ्चार हुन्छ ? भन्ने ट्रयाकमा लेखेको थिए ।’ आधा दर्जन राजनीतिक र शैक्षिक पुस्तक लेखेका महरले पहिलो पटक गीत लेखेका हुन् ।

गायक प्रमोद खरेलले राजनीति र साहित्य फरक विधा रहेपनि नैनसिंहले रोजेको बाटो सुखद रहेको बताए । सार्वजनिक गीतले समाजलाई आशाको सञ्चार गर्न सक्ने बताए । पत्रकार पुरुषोत्तम दाहालले कला, साहित्य र संस्कृति देशकै पहिचान भएकाले त्यसविना देश नबच्ने बताए । गीतकार डा. भोला रिजालले राजनीतिमा प्रभाव जमाउदै आएको नैनसिंहलाई लेखनमा देशभक्ती गीत ‘मेरो देश बन्छ’ले परिचय थप्ने बताए । राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राई (ब्याकुल माइला)ले लेखकहरुले समाज र राष्ट्रलाई सकारात्मक दिशामा लैजाने भावका सृजना सार्वजनिक गर्न सक्नुपर्ने बताए ।