मुम्बई(एजेन्सी) । बलिउडको सबैभन्दा आइकोनिक प्रेमकथामध्ये एक ‘दिलवाले दुल्हनिया ले जोएंगे(डीडीएलजे)’ आज पनि दर्शकको मनमा पहिलेको जस्तै बसिरहेको छ । सन् १९९५ मा रिलिज भएको यो फिल्मले ३० वर्ष पुरा भएको मौका पार्दै विश्वलाई एउटा उपहार दिएको छ ।
बिहीबार लण्डनको प्रख्यात लेसिस्टर स्क्वायरमा शाहरु खान र काजोलको भूमिका राज र सिमरनको ब्राण्ड स्टेच्यू अनावरण गरिएको छ । स्टेच्यूमा त्यही पोज छ, जसमा दुवै कलाकारले एक अर्काको हात अगाडि बढाएका देखिन्छन् । जुन दृश्यलाई दर्शकले अहिले पनि उत्तिकै मनपराएका छन् ।
स्टेच्यूको अनावरणमा शाहरुख र काजोल उपस्थित थिए । त्यस्तै यशराज फिल्मस्का सिइओ अक्षय विधानी र हार्ट अफ लण्डन विजनेस अलायन्सका सिइओ रोस मोर्गन पनि सहभागी थिए । यो फिल्मलाई सिन इन द स्क्वायर ट्रेलमा राखिएको छ । ट्रेलमा राखिएको यो पहिलो भारतीय फिल्म हो । यो ट्रेलमा हालसम्म विश्वका चर्चित फिल्म ‘ह्यारी पोर्टर’, ‘मेरी पपन्सि’का मूर्ति राखिएका छन् ।
शाहरुखले स्टेच्यूमा रहन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘डीडीएलजे हृदयबाट बनाइएको फिल्म थियो । हामी एउटा यस्तो कथा भन्न चाहन्थ्यौं, जहाँ प्रेमले हरेक पर्खाल तोड्छ । यहीकारण ३० वर्षपछि पनि यसको लोकप्रियता उत्तिकै छ’, उनले भनेका छन् ।






